देउवाद्वारा सुरक्षा सुदृढ तुल्याउन निर्देशन

Nov 14, 2017, 09.51PM IST
VIEW IN APP
Send Push Translate

चुनाव प्रचारमा लागेका उम्मेदवार लक्षित आक्रमणको क्रम जारी रहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा त्रुटिको समीक्षा गर्दै चुनावी सुरक्षा व्यवस्था सुदृढ तुल्याउन अधिकारीहरुलाई निर्देशन दिएका छन्।

भोजपुर र म्याग्दीमा क्रमश: नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवार चढेका मोटर लक्षित आक्रमण भएको खबर सार्वजनिक भएकै दिन देउवाले त्यस्ता घटना दोहोरिन नदिन सुरक्षा अधिकारीहरुलाई सचेत गराएका हुन्।

राजनीतिक दलले पनि एकपछि अर्को उम्मेदवार लक्षित आक्रमणका घटनाप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेका छन्।

कहाँ नेर त्रुटि भयो? त्यसतर्फ म सबै सम्बन्धित निकायलाई ध्यान दिन निर्देशन दिन चाहन्छु। यस्ता किसिमका घटना नदोहोरियोस् भन्न म चाहन्छु

शेरबहादुर देउवा

मंगलबार पूर्वी नेपालको भोजपुरमा नेकपा एमालेका उम्मेदवार शेरधन राई र पश्चिमको म्याग्दीमा नेपाली कांग्रेसका उम्मेदवार खम्बीर गर्बुजा चढेका सवारीसाधन लक्षित आक्रमणका विवरणले सुरक्षा चिन्ता बढाइदिएको छ।

मंगलबार नै नेपालगञ्जमा प्रदेश नम्बर ५ र ६ का सुरक्षा अधिकारीहरुको बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताए।

त्रुटि

उनले भने, "कहाँ नेर त्रुटि भयो? त्यसतर्फ म सबै सम्बन्धित निकायलाई ध्यान दिन निर्देशन दिन चाहन्छु। यस्ता किसिमका घटना नदोहोरियोस् भन्न म चाहन्छु।"

नेपालगञ्ज पुगेका हाम्रा समाचारदाता उमीद बागचन्दका अनुसार प्रधानमन्त्री देउवाले सुरक्षा व्यवस्था सबल बनाउन राजनीतिक दलहरुले समेत सहयोग गर्नु पर्नेमा जोड दिएका थिए।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीका अनुसार केही दिनयता उम्मेदवार आक्रमणका ६ वटा घटनामाथि सुरक्षा निकायले अनुसन्धान गरिरहेका छन्।

उनले भने, "रोल्पामा दुईवटा, रुकुममा एउटा, भोजपुर, संखुवासभा र म्याग्दीमा एक-एक वटा घटना भएका छन्। तर कुनै मानवीय क्षति भएको छैन। हामी अनुसन्धान गर्दैछौं।"

गत शुक्रबार पश्चिम रुकुममा पूर्व गृहमन्त्री एवं नेकपा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा र शनिबार एव आइतबार रोल्पामा माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुन लक्षित आक्रमण भएका खबर सार्वजनिक भइसकेका छन्।

तर गृह मन्त्रालयका अधिकारीहरुले चुनावी सुरक्षालाई मध्यनजर गरेर सुरक्षा व्यवस्था चुस्त-दुरुस्त बनाउने चाँजोपाँजो मिलाइसकिएको बताएका छन्।

विशेष सुरक्षा

गृह प्रवक्ता दुवाडीका अनुसार चुनावी सुरक्षा सबल बनाउन विशेष सुरक्षा दस्ता तयार पारिएको छ।

मंगलबार भोजपुरमा आफ्ना उम्मेदवार शेरधन राईको मोटर लक्षित आक्रमणको विरोध गर्दै नेकपा एमालेका अध्यक्षले एक वक्तव्यमार्फत् आक्रमणमा संलग्न दोषीमाथि कडा कारवाही गर्न माग गरेका छन्।

गृह मन्त्रालयका अनुसार त्यो र अरु आक्रमणका घटनामा संलग्न व्यक्तिहरुको खोजी जारी छ।

गृह मन्त्रालयका अनुसार दुबै चरणमा गरी चुनावी सुरक्षाका लागि म्यादी प्रहरी र नेपाल प्रहरी सँगै सशस्त्र प्रहरी बल र नेपाली सेनाका गरी करिब ३ लाख सुरक्षाकर्मी खटिंदैछन्।

तर चुनावप्रति असन्तुष्ट समूहले गरे, गराएका ठानिएका उम्मेदवार आक्रमणका घटनाले चुनावी सुरक्षा व्यवस्थामाथि चुनौती थपिदिएको देखिन्छ।

Push Details
Title of the push
Copy
Deeplink of the push
Share url
Copy